आत्मसम्मानमा खेलबाड
छुवाछूतरूपी विषवृक्षको जरा काट्न दलितभित्रको बाहुनवाद फ्याँक्न सक्नुपर्छ
by Dr. Bishnu Maya Pariyar

आफ्ना लागि आफैं बोल्नुपर्छ र संघर्ष आफैं गर्नुपर्छ। कसैले बोलिदेलान् गरिदेलान् वा मैले बोल्दा ख्वामित रिसाउलान् भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ। सामाजिक फोहोर सबैले सफा गर्नुपर्छ। तर आफ्ना लागि उठ्नुपर्ने, बोल्नुपर्ने, लड्नुपर्ने आफैंले हो। गैरदलितलाई निषेध गर्ने र गैरदलितलाई नै अगुवा बनाएर मात्र जातीय विभेद अन्त्य हुन्छ भन्ने अतिवादी सोच त्याग्नु जति जरुरी छ त्यति नै अपरिहार्य छ आन्तरिक एकता, सद्भाव र विश्वास। दलित–दलितको अनेकताले फाइदा अरूलाई नै हुन्छ। यो सत्य हाम्रा अगुवाले नबुझेका पक्कै छैनन्। अनेकताले हामीलाई छिन्नभिन्न र शक्तिहीन बनाएको कटु सत्य स्वीकार गर्नुपर्छ।

Read original article post at: http://annapurnapost.com/news/163762
हामीसँग राजनीतिक आबद्धताका कारण राजनीतिमा सिद्धान्तको असहमति होला, आफ्ना लगाव र झुकाव हुन्छन् पनि बहुदलीयतामा, यसलाई अस्वीकार गर्न सकिन्न। तर राजनीतिभन्दा पहिले आफ्नो स्वतन्त्र मानव अस्तित्व र पहिचानको लडाइँलाई मुख्य ठान्नु र मूल मुद्दा बनाउन लागिपर्नुपर्ने हो। किनकि दलित समुदाय दोहोरो मारमा छन्। एकातिर अमानवीय छुवाछूतको विभेद छ भने अर्कातिर अधिकांश दलित गरिबीको जाँतोमा पिसिएका छन्। त्यसैले दलित समुदाय विशेष सहानुभूतिको पात्र र विगतको अभाव र विभेदको क्षतिपूर्ति पाउने वर्ग समुदाय हो।
दलितहरू स्वाधीन, स्वतन्त्र, स्वाभिमान, मर्यादा समानता र समान अवसरपछि मात्र आआफ्नो राजनीतिक अभीष्टमा लाग्नुपर्छ। आजको राष्ट्रिय आवश्यकता दलित–दलितबीचको एकता, उत्पीडित सीमान्तकृत वर्ग र समुदायको सहृदयता, ऐक्यबद्धता हातेमालो र सहकार्य हो। दलित आन्दोलन पछि पर्नुको कारण र यसको अन्तर्य खोतलेर निष्कर्षमा पुग्नैपर्छ। कमजोरी र सीमाबारे सिंहावलोकन गर्न जति ढिला गर्यो पीडा उति नै थपिनेछ। हाम्रो उद्देश्य र प्रारूप अब अर्को पुस्ताले हाम्रोजस्तो पीडा र मर्यादाहीन भएर बाँच्न नपरोस् भनेर हो। हामी मानव चोला लिएर पनि गैरमानव झैं हुनुपरेको पीडाको खिल झिक्नुपर्छ।
समाजमा एकाध मान्छेले अवसर लिनु र अवसर पाउने भर्याङभन्दा समग्र दलितको उत्थान, जागरण र समान अवसर र मौका, आधारभूत तहका मान्छेको जीवनस्तरमा परिवर्तन, राष्ट्रको शैली पद्धति र विधिमा रूपान्तरण मुख्य एजेन्डा हो। केही सीमित मान्छेको उदाहरण देखाएर भुलाउन खोज्ने, सीमित आरक्षण र थोरै सहानुभूतिमा रमाउने प्रपञ्च र गोटी बन्नबाट बँच्न र दलित आन्दोलनलाई बचाउन सकियो भने गन्तव्य टाढा छैन। भुल्ने र भुलाउने खेल हुन सक्छ, हुँदै आएको छ। रुकुम सोतीको नरसंहारमा नै धेरै षड्यन्त्र र जालझेल भएको र हुन खोजेको विषयबाट हामी सतर्क र सजग रहनुपर्छ। रुकुम घटनाले दिएको सन्देश र हाम्रो वास्तवकिता पनि यहाँ उजागर भएको छ। रुकुम घटना जातीय भेदभावका कारण घटित घटना भए पनि अन्यायमा परेर मारिएका गैरदलित भाइ पनि छन्। यसको अर्थ हो– हामी दलित र गैरदलितको सम्बन्ध अन्योन्या िश्रत छ। तसर्थ सरोकार सबाल र सहकार्य दलित र गैरदलित सबै समूहको हो, देशको हो। जातीयताको बनिबनाउ लेन्सबाट मुक्त भएर मानवीय दृष्टिगोचर गर्न सकियो भने हामीले विभेद र असमानताबाट छिटो मुक्ति पाउँछौं।
राज्यको उपल्लो निकायमा एक दलित प्रतिनिधिको उपस्थिति नै पर्याप्त होइन। समानुपातिक अवसर, समान प्रतिनिधित्व, सामाजिक मर्यादा अनि आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र धार्मिक पद्धतिमा एकरूपताको तथ्यले मात्र समाजमा परिवर्तनको सूत्रपात गर्न सक्छ। समाज परिवर्तनको आफ्नै नियम र गति छ। यसो भन्दैमा समाज परिवर्तनको धिमा गतिलाई स्वीकार गरेर बस्नेभन्दा यसको गति बढाउने कार्यकर्म संघर्ष, रचनात्मक सामाजिक चेतका लागि काम गर्नुपर्छ। गैरदलित समुदायको चेत सबै कुराको उपचार र जागरण सामाजिक परिवर्तन र समाजीकरणका मुख्य र सहायक तत्व हुन्छन्। हाम्रोजस्तो अन्धविश्वासी समाजको मनोविज्ञान आजको आजै र अहिल्यै तुरुन्त परिवर्तन गर्न सकिन्न। उमेर, समूह र चेतना, शिक्षा, सेवा र सुविधाको अवस्था र माध्यममा पनि परिवर्तनको गति निर्भर रहन्छ। मुढाग्रह र पूर्वाग्रहभन्दा विवेक न्याय र निष्पक्ष भएर आन्दोलन अघि बढाउनेतर्फ हाम्रो ध्यान गएन भने आन्दोलन शिथिल र एकांकी हुन जान्छ। दूरगामी प्रभाव र असर बोक्ने आन्दोलन त्यसको प्रभाव क्षेत्र र सामाजिकताको गहन अध्ययन विश्लेषण र तथ्यपरक संश्लेषणविना परिवर्तन कठिन र दुरुह छ। आवेग होइन विवेक र सामयिक सांस्कृतिक क्रान्तिको सुरुवात गर्नुपर्छ।
अबको आन्दोलन विशुद्ध एकीकृत, सामाजिक र बृहत् हितका लागि अपरिहार्य छ। संकुचन हैन फैलावटबाट आन्दोलन धारिलो र फराकिलो बनाउन सकिन्छ।
नेपालको जनसंख्याको १३/१४ प्रतिशतले ८६/८७ प्रतिशतसँग पौंठेजोरी खेल्नुपर्ने स्थिति सामान्य बन्दैन तर यो असम्भव र दुरुह छ भनेर हार खाने स्थिति पनि होइन। आत्मसम्मानको लडाइँ त मान्छे एक्लै भए पनि लड्छ। हामी ६० लाखको हाराहारीमा छौं। यो संख्या सानो र न्यून आकलन होइन। समाजको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक रूपान्तरणमा धेरैको सहभागिता र जागरुकता आवश्यक छ। मानवाधिकार र न्याय समानताको युगमा अल्पसंख्यकको पनि आफ्नो स्थान, मर्यादा, स्वतन्त्रता छ। पहिचान र चिनारी छ। तसर्थ मेजोरिटीसँग डराउनुपर्ने, हच्किनुपर्ने स्थिति रहन्न। शासन सत्ता मेजोरिटीकै रहने भएकाले तिनलाई कन्भिन्स गर्दै मानवीय मूल्य र मर्यादा कायम राख्न सँगै हिँडाउने सहयात्री बनाउने र उत्प्रेरित गर्ने, खबरदारी गर्ने, नीति निर्माण र कार्यान्वयन गर्न अभिप्रेरित गराउनेलगायत सबै नीति अख्तियार गरी समयको मागसँग हिँड्ने क्षमता राख्नु हो। आज दलित प्रेम गरेको निहुँमा मात्र मारिएका मात्र छैनन्, धारा छोएको र चुलोमा गएको निहुँमा पनि मृत्युदण्ड पाएका छन्। नवराजहरूले अब मर्नु पर्दैन जति मर्नु मरिसके तर जीवित नवराजहरू, लक्ष्मी परियारहरू, मना सार्कीहरूले बारम्बार मारिनुपर्छ। आंगिरा पासीहरू पटकपटक ठाउँठाउँमा बलात्कृत भएर मारिने नियति उस्तै छ। काठमाडौंमा कोठा खोज्न जाँदा जिउँदै मरेतुल्य बन्नुपर्छ। दूरदराज गाउँको हालत के होला ? आफ्नो अधिकार नपाएर अधिकार नजानेर पीडा र सास्ती पाएर मान्छे दलित सामुदाय हुनुको कारण गाउँगाउँ, ठाउँठाउँमा मारिने क्रम रोकिएको छैन। विभेद कहीं दृश्यमा छ भने कहीं अदृश्यमा।
हाम्रो मानसिकता र मनोविज्ञान अमेरिकामा पनि नेपाली अदृश्य रूपमा छुवाछूत गरिरहेका छन्। पढेलेखेका संसार देखेजानेकाले पनि कतै न कतै घुमाउरो तवरले भेदभावको रेखा कोरेकै छन्। त्यो उनीहरू हुर्केबढेको संस्कारको कारण भएको हो। तसर्थ यो आज र तुरुन्तै मेट्न सकिन्न। यसका लागि समय लाग्छ। अमेरिकामा पनि काला र गोराको भेद, मालिक र दास भन्ने भेद अझैसम्म यदाकदा देखिन्छ। तर अमेरिकी एकको पीडामा अर्को चुप बस्दैनन्। काला अश्वेत जर्ज फ्लोयडको निर्मम हत्या हुँदा गोरा समुदायका ८० प्रतिशत मान्छे विरोध र प्रतिकारमा उत्रिए। अमेरिकाको ४० भन्दा बढी सहरमा कफ्र्यु लगाएर विरोध साम्य पार्नुपर्यो। राष्ट्रपति ट्रम्पले फ्लोयडको परिवारसँग राज्यको तर्फबाट फोन गरेर माफी मागे। यो चेतनाको विकास गर्ने नैतिक साहस देखाउन नेपाली गैरदलित, सत्तासीन नेता राजनीतिक पार्टीहरूले गर्न ढिला गर्नु हुन्न। हामी कर्मले असल र खराब बन्न सक्छौं। जन्म संयोग पेसा, व्यवसाय र जन्मथलोको कारण उचनीच बन्दैनौं।
१९६७ देखि संसारभर २१ मार्चलाई अन्तर्राष्ट्रिय भेदभाव उन्मूलन दिवसका रूपमा मनाउन थालिएको ५५ वर्ष भयो भने नेपालको कानुनमा भेदभाव दण्डनीय मानिएको ५७ वर्ष र अत्याधुनिक अधिकार प्राप्त नयाँ संविधान बनेको १० वर्ष नपुग्दै जातीय हिंसा र विभेदको कारण २२ जना दलितको ज्यान गइसकेको छ। कति पेक्ष कारण र असरले मरिएका छन्, आत्महत्या गर्न बाध्य छन्। अपमान, ताडना र कष्टका बादलमुनि रहन र पीडा खप्न अभिशप्त छन्। भेदभावविनाको समाज निर्माण गर्न राष्ट्रसंघको मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लाई आत्मसात राज्यले गर्यो। सबै प्रकारका जातीय विभेद उन्मूलनको महासन्धि १९६९ का पक्षराष्ट्र पनि बन्यौं तर मनुस्मृतिकालीन विभेद र छुवाछूत कायमै छ। नियम–कानुन लेख्दैमा वा अधिकार प्राप्त हुँदैन। त्यसका लागि राज्य सांस्कृतिक रूपान्तरण र राज्यको प्रभावकारी हस्तक्षेप र चेतना जागरणको कार्यक्रमदेखि अन्धविश्वास र कुसंस्कार हटाउने मनोसामाजिक परामर्शसम्मका कार्यकर्म हुनुपर्छ। त्यसका लागि राज्यलाई बाध्य पार्न घच्घच्याउन नेपाली दलितले अहोरात्र खटेर संघर्ष गर्नु जरुरी छ। अन्यथा कागतको कानुन आफंै व्यवहारमा आउँदैन। आउने भए छुवाछूत दण्डनीय बनेको ६० वर्ष पुग्दा पनि नेपाली दलितको स्थितिमा गुणात्मक परिवर्तन छैन। जातका कारण अपमान, ज्यादती र मृत्युदण्ड कायमै छ। साझा मुद्दा र मानवताको सवालमा एक नभएको दलित अब कहिले हुने ?
कुन साइत र मौका पर्खने र एक हुने ? देशमा भएको त्यत्रो विकराल घटनामा नेपाली दलितहरू एकै ठाउँमा बस्न नसकेको र सत्तापक्षीय दलित एक महिनापछि त्यो पनि एक्लै सडकमा आएको देखेर दुःख लागेको छ। मानवता दुख्ने र नदुख्ने सत्ता र प्रतिपक्ष हुनुको नाताले पक्कै होइन। चोट लागेपछि एकैपटक दुख्नुपर्छ। विपक्षीले निषेध गरे कि सत्तापक्ष हुनुको नैतिकताले दिएन ? किन संयुक्त आन्दोलन हुन सकेन ? ज्यादती जसले गरे पनि त्यो क्षमायोग्य हुन्न मानवीय र वर्गीय भावभन्दा ठूलो पार्टी हुँदैन। किन राजनीतिक पार्टीको काँडे बार नाघेर आउन सक्तैनन् विभिन्न पार्टीसम्बद्ध दलित नेता र कार्यकर्ता ? अझै दास मानसिकता नै बोकेर बस्ने हो भने दलित मुक्ति र संघर्ष सम्भव होला र ? छुवाछूतरूपी विषवृक्षको जरा काट्न सबैभन्दा पहिले आफूमा शुद्धता र प्रस्टता खाँचो छ। दलितभित्रको बाहुनवाद फ्याँक्न सक्नुपर्छ। आन्तरिक भेद र छुवाछूत मेट्न सक्नुपर्छ अन्यथा अरूले भन्नेछन्– आफूभित्रको भेद पहिले निकालेर फाल अनि कुरा गर। यसो भन्ने मौका किन दिने ? त्यसैले आफ्नो र आफ्नो समुदायको आन्तरिक विभेद अन्त्य गरेर र राजनीतिक विभेद थाँती राखेर संघर्ष गरौं। राज्यले कान खोलेर सुन्ने छ, आँखा खोलेर हेर्ने छ, विवेक निकालेर न्याय र समानताका लागि एकाकार हुन बाध्य हुने छ। सामाजिक र सांस्कृतिक आन्दोलनको दायरा फराकिलो बनाउन दलित सामुदायको मात्र हैन, गैरदलित समुदाय, महिला, मधेसी सबैलाई एकमुस्ट रूपमा लिएर जान सक्ने वातावरण बनाउनुपर्छ। समस्या गैरदलित महिलाको आन्तरिक शोषणदेखि मर्यादाविहीन बन्नुको पनि छ। नछुनी बारेर बस्नुदेखि छाउ गोठमा सर्पको टोकाइका कारण मर्नु र असुरक्षित बसाइका कारण छाउगोठमा बलात्कारमा पर्नुपरेको, दाइजोका कारण तराई–मधेसमा महिला हिंसा र हत्याको घटना विकराल छ।
मान्छेको रङ कालो हुनुका आधारमा भेदभाव झेल्नुपरेको र अपमान सहनुपरेको छ बोक्सी भनेर दिनदिनै महिला कुटिने र गाउँनिकाला गरिनेदेखि मारिनेसम्मको दर्दनाक समस्या नै समस्या छ। यी यावत् मुद्दा र विषय बोकेर एकीकृत रूपमै देशभर आन्दोलन गर्न सकिन्छ। आन्दोलनको दायरादेखि सहभागिताको घनत्वसम्म बढाउने कार्ययोजना तय गरेर जानुपर्छ। अबको आन्दोलन विशुद्ध एकीकृत, सामाजिक र बृहत् हितका लागि अपरिहार्य छ। संकुचन हैन, फैलावटबाट आन्दोलन धारिलो र फराकिलो बनाउन सकिन्छ। तसर्थ म सम्पूर्ण दलित अगुवा, दलित जनप्रतिंनिधिलगायत समस्त न्याय समता, मर्यादा र आत्मसम्मानको पक्षधरलाई एकीकृत आन्दोलन र दबाबको कार्यकर्म बनाएर सँगै लडौं। विभेदविरुद्ध लडौं। असमानताविरुद्ध लडौं। अचेतना मार्न लडौं। बेथितिविरुद्ध बोलौं। लैंगिक हिंसाविरुद्ध बोलौं। घरेलु हिंसा र बालबालिका हिंसाबारे बोलौं। प्रतिकार गरौं। एकै धर्ती, एकै मानवता, एकै माया किन नहुनु साझा सास लिएर बाँच्ने हामी मानवबीच ?
Read original article post at: http://annapurnapost.com/news/163762
"डा. विष्णुमाया परियार" द्वारा लिखित समाचारहरु:
Comments